News आयोजक समपुर्ण क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । संघर्षपुर्ण जितका साथ आयोजक समपुर्ण युवा क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ समपुर्णले द राइजिङ युवा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यसअघि तिलोत्तमा नगरपालिका–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ द राइजिङका लागि अजय रानाभाटले गोल गरेका थिए भने समपुर्णका लागि उदय मगरले गोल फर्काएका थिए । खेलमा समपुर्ण कै उदय मगर म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १००० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर ११ गते सोमबारको प्रिक्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व.डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

 

Post Comments