News सहज जितका साथ फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । सहज जितका साथ फर्साटिकर युवा क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ फर्साटिकरले लिस्नु युवा क्लबलाई ५–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि बलराम न्यौपाने, आशिष राना, सुजन राना, मुकेश कुवँर र अवतार थापाले गोल गरे ।

उता पराजित लिस्नुका लागि मिशन गुरुङले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा फर्साटिकरका सुजन राना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत मंसिर १२ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल रेसुङा फुटबल क्लब, दुर्गानगर र आहना फुटबल क्लब, बुटवल बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments