News रियल स्टार र एन्फा मकवानपुर फाइनलमा भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । रियल स्टार क्लब र रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर यहाँ जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडया च्यालेञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । सोमबार प्रतियोगिताका दुई सेमिफाइनल खेलहरुमा जित निकाल्दै एन्फा मकवानपुर र रियल स्टार उपाधिका लागि भिड्ने पक्का भएको हो ।

पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा रियल स्टारले नव जनजागृति युवा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा रियल स्टारका सोहन मोक्तान म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा एन्फा मकवानपुरले शहिद स्मृति क्लबलाई टाईब्रेकर मै ५–३ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि यी दुई टोलीले पनि निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए । खेलमा एन्फा मकवानपुरका कृषल मोक्तान म्यान अफ द म्याच घोषित भए ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।

 

Post Comments