News १६औं आत्मानन्द कपः सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

माङ्सेबुङ । यहाँ जारी १६औं आत्मानन्द कप अन्तर्राष्ट्रिय आमन्त्रण खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार अन्तिम क्वाटरफाइनलमा माने भञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ, भारतले जित हात पारेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

आत्मानन्द खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा माने भञ्ज्याङले गोलबजार स्र्पोटिङ क्लब, सिरहालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । माने भञ्ज्याङका लागि सुजल मुण्डाले दुई गोल गर्दा श्याम मुर्मुले थप एक गोल गरे । पराजित गोलबजारका लागि मनिष मगरले एक मात्र गोल गरेका थिए ।

खेलमा माने भञ्ज्याङका सुजल मुण्डा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५०० र मेडल हात पारे । माने भञ्ज्याङले मंसिर १३ गते हुने दोस्रो सेमिफाइनलमा तिजोक फुटबल क्लब, पाँचथरको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत मंसिर १२ गते मंगलबारको पहिलो सेमिफाइनल खेल माङ्सेबुङ गाउँपालिका, इलाम र सिरिजङ्गा स्र्पोटिङ क्लब, मोरङबीच हुनेछ ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औं जन्मोत्सवको अवसर पारी आत्मा पवित्र हक्चात यक्चुम र महान सेवा समारोह, माङ्सेबुङ, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१७० रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१७० रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments