News रोहितको टोली पेर्सिकको महत्वपूर्ण जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिगमा महत्वपुर्ण जित हात पारेको छ । लिगको आफ्नो २०औं खेलमा आठौं जित हात पार्ने क्रममा पेर्सिकले दश खेलाडीमा सिमित एरेमा एफसीलाई १–० ले हरायो ।

एरेमाको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेले । दोस्रो हाफको शुरुवात तिरै एरेमा भने दश खेलाडीमा खुम्चिन पुगेको थियो । ४९औं मिनटमा जयुस हरिओनोले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली थप दबाबमा परेको थियो ।

जसको फाईदा पेर्सिकले उठायो । खेलको ७३औं मिनटमा एन्डरसन नासिमेन्टोले पेर्सिकका लागि एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक भूमिका पनि खेले । खेलमा रोहितले पनि पहिलो रोजाई मै रहेर पूरा समय खेले । यद्यपि खेलको ७०औं मिनटमा रोहितले पनि पहेंलो कार्डको सामना गरेका थिए ।

यो जितपछि २० खेलबाट २९ अंक जोडेको पेर्सिक सातौं स्थानमा छ । उता पराजित एरेमा भने १८ अंकका साथ रेलिगेशन क्षेत्रको १६औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल डिसेम्बर २ तारीख शनिबारका दिन देवा युनाइटेडसँग खेल्ने कार्यक्रम छ ।

Post Comments