News जर्मनीलाई पहिलोपटक फिफा यु–१७ विश्वकपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युरोपियन पावर हाउस जर्मनीले ऐतिहासिक रुपमा पहिलोपटक फिफा यु–१७ विश्वकपको उपाधि जित्न सफल भएको छ । शनिबार इण्डोनेसियन शहर सुराकर्ता स्थित मनहान स्टेडियमा भएको फाइनलमा जर्मनीले अर्को बलियो टोली फ्रान्सलाई हराउँदै ऐतिहासिक उपाधि जितेको हो ।

खेलमा शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जर्मनीले जितका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो । खेलको २९औं मिनटमा पेरिस ब्रुनरको पेनाल्टी गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो । ५१औं मिनटमा नोहा डार्विचले जर्मन टोलीको त्यो अग्रता दोब्बर पारे ।

तर लगतै फ्रान्सले खेलमा पूनःरागमन गर्यो । ५३औं मिनटमा साइमन बुआब्रेले फ्रान्सका लागि पहिलो गोल गरे भने ८५औं मिनटमा म्याथिज अमुगुले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने जर्मनीले फ्रान्सलाई ४–३ ले निराश बनाउँदै च्याम्पियन बन्यो ।

त्यसअघि शुक्रबार तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा मालीले अर्जेन्टिनालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्यो । स्मरण रहोस, सेमिफाइनलमा मालीले फ्रान्ससँग हार बेहोरेको थियो भने अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

ब्रुनर सर्वोत्कृष्ट खेलाडी

व्यक्तिगत विधातर्फ जर्मनीका पेरिस ब्रुनर सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले गोल्डेन बल हात पारे । फ्रान्सका पाउल आर्नी उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोब हात पारे । प्रतियोगिताभरि ८ गोल गरेका अर्जेन्टिनाका अगस्टिन रुबर्टोले गोल्डेन बुट हात पारे भने इङल्याण्ड फेयर प्ले टिम बन्यो ।

Post Comments