News आयोजक समपुर्णलाई दोस्रो समपुर्ण कपको उपाधि
सुरज राना मगर

सुपौली । यहाँ सम्पन्न स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक समपुर्ण युवा क्लब, सुपौलीले जितेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा समपुर्णले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

त्यसअघि तिलोत्तमा–१४ स्थित समपुर्ण खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयतर्फ समपुर्णले पेनाल्टीको अवसर पनि पाएको थियो । तर समपुर्णका एलिस मगरको पेनाल्टी प्रहार झरनाका गोलरक्षक कुशल सुनारले आकर्षक रुपमा जोगाएका थिए ।

विजेता बनेको समपुर्णले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता झरनाले ५५,५५५ रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य बन्यो । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक झरनाका कुशल सुनार घोषित भए । उत्कृष्ट डिफेन्डर समपुर्णका उदय मगर बन्दा उदीयमान खेलाडी झरनाका हरि प्रसाद कुमार चुनिए । सर्वाधिक गोलकर्ता सन्जिवनीका सदिप केसी बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी समपुर्णका दान बहादुर थापा क्षेत्री घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, प्रतियोगिताका मुख्य प्रायोजक तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब. गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब. गुरुङ्ग, चित्र ब. गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्ग, आयोजक समपुर्ण युवा क्लबका अध्यक्ष अबिर पुन लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments