News धनगढीसँग पोखरा, झापासँग चितवन भिड्दै
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शुक्रबार दुई महत्वपूर्ण र निर्णायक खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दिनको १ बजेदेखि शुरु हुने खेलमा धनगढी एफसीले लिगलिडर पोखरा थन्डर्सको सामना गर्दैछ ।

प्ले अफमा यसअघि नै स्थान सुरक्षित गरिसकेको पोखराले आज लिग चरणको अन्तिम खेलमा पनि जित निकाल्दै शिर्षता कायम राख्ने योजनामा हुनेछ । ७ खेलबाट १४ अंक जोडेको पोखरा शिर्ष स्थानमा छ । २ अंक कम दोस्रो स्थानमा रहेको धनगढीलाई भने जित्नपर्ने दबाब पनि छ ।

धनगढीले बराबरी खेले पनि प्ले अफमा पुग्ने सम्भावना कायम छ । तर, त्यसका लागि उसले अन्य खेलहरुको नतिजामा पनि भर पर्नु पर्नेछ । तत्कालका लागि धनगढी बाहेक ललितपुर, झापा, काठमाडौं र बिरगंजको प्ले अफ खेल्ने सम्भावना कायम छ ।

त्यस्तै साँझ ५ बजेदेखि शुरु हुने खेलमा झापा र चितवन भिड्दै छन् । ७ खेलबाट १० अंकका साथ चौथो स्थानमा रहेको झापालाई पनि जित्नुपर्ने दबाब छ । उता ६ अंकका साथ पुछारमा रहेको चितवन प्ले अफको होडबाट यसअघि नै बाहिरिसकेको छ ।

यस अर्थमा चितवन विरुद्ध झापा भिड्दै गर्दा झापाली टोलीलाई केही दबाब पनि रहने निश्चित छ । झापालाई प्ले अफमा प्रवेश गर्न चितवन विरुद्ध बराबरी खेले पनि अन्य खेलहरुको नतिजामा पनि भर पर्नु पर्नेछ । त्यसैले पनि आज हुने दुवै खेलहरु रोमाञ्चक हुने निश्चित छ ।

Post Comments