News सिटीलाई ऐतिहासिक फिफा क्लब विश्वकपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली राष्ट्र साउदी अरेबियामा सम्पन्न प्रतिष्ठित फिफा क्लब विश्वकपको उपाधि इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले ऐतिहासिक रुपमा पहिलोपटक जित्न सफल भएको छ ।

साउदी शहर जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटीमा भएको फाइनल भिडन्तमा सिटीले ब्राजिलियन क्लब फ्लुमिनेन्जलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै पहिलोपटक उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

खेल शुरु भएको पहिलो मिनट मै जुलियन अल्वारेजको गोलबाट सिटीले अग्रता लिएको थियो । २७औं मिनटमा विपक्षीका निनोले आत्मघाती गोल गर्दा सिटीले पहिलो हाफसम्म २–० को अग्रता नाउन सफल भयो ।

दोस्रो हाफको ७२औं मिनटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल थपे भने ८८औं मिनटमा अल्वारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सिटीको प्रभावशाली जित पक्का गरे ।

यो जितसँगै सिटी एकै क्यालेण्डर वर्षमा पाँच उपाधि जित्ने पहिलो इङलिस क्लब बनेको छ । सिटीले यसअघि यसै क्यालेण्डर वर्षमा इङलिस प्रिमियर लिग, एफए कप, युइएफए च्याम्पियन्स लिग र युइएफए सुपर लिग जितिसकेको छ ।

त्यस्तै तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा इजिप्शियन क्लब अल अहलीले एसियन च्याम्पियन उरावा रेड डायमण्डलाई ४–२ ले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो ।

Post Comments