News विश्व शान्तिलाई प्रथम जागृति कपको उपाधि
सुरज राना मगर

कञ्चन । यहाँ सम्पन्न प्रथम जागृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि विश्व शान्ति युवा क्लब, सालझण्डीले जितेको छ । फाइनलमा आयोजक जागृति तथा सक्रिय युवा समूह, पिपरिचापालाई हराउँदै विश्व शान्ति च्याम्पियन बनेको हो ।

कञ्चन गाउँपालिका–५ स्थित पिपरिचापा खेलमैदानमा भएको फाइनल भिडन्तमा विश्व शान्तिले आयोजक जागृतिमाथि टाईब्रेकरमा ५–४ को जित निकाल्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको विश्व शान्तिले उपाधिसहित नगद ७० हजार हात पार्यो भने उपविजेता आयोजक जागृतिले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विश्व शान्तिका दानु थापा फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक विश्व शान्ति कै सुशिल मल्ल चुनिए भने उत्कृष्ट डिफेन्डर आयोजक जागृतिका सुमित मल्लाह बने ।

सर्वाधिक गोलकर्ताको पुरस्कार विश्व शान्तिका समिर श्रेष्ठले हात पार्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक जागृतिका दिपेन सेन ठकुरी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिका–५ का वार्ड अध्यक्ष कुल प्रसाद पौडेल, आयोजक क्लबकी अध्यक्ष कल्पना पुन थकाली, खेल संयोजक मिलन गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

मिलन आमा समूह र जागृति तथा सक्रिय युवा समूह, कञ्चन–५, पिपरिचापाको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments