News चक्रघट्टी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको फाइनलमा
गोलनेपाल

फुङलिङ । साँघुरो जितका साथ चक्रघट्टी फुटबल क्लब, सुनसरी यहाँ जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भानुजन माविको खेलमैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा चक्रघट्टीले आठराई गाउँपालिका, तेह्रथुमलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । चक्रघट्टीका लागि खेलको २८औं आकाश राईले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच भने चक्रघट्टी कै संजय प्रधान घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत पुस ९ गते सोमबारको दोस्रो सेमिफाइनल खेल सगरमाथा युथ क्लब, मोरङ र पाँचथर फुटबल क्लब, पाँचथरबीच हुने आयोजकले जानकारी दियो ।

चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २ सय ८० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक चन्द्र थेबेले बताए । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ११ गतेका दिन हुनेछ ।

Post Comments