News उत्कृष्ट जितका साथ दमक सेमिफाइनलमा
गोलनेपाल

इटहरी । दमक नगरपालिका, झापा यहाँ जारी अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा दमकले बराहक्षेत्र नगरपालिका, सुनसरीलाई ३–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा दमकका लागि गौरव धिमाल, किस्मत लिम्बु र ओशन राईले गोल गरे । उता पराजित बराहक्षेत्रका लागि अनिष लिम्बुले एक मात्र गोल गरेका थिए ।

खेलमा दमकका किस्मत लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे । प्रतियोगिता अन्तरगत पुस ९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बेलबारी नगरपालिका, मोरङ र इनरुवा नगरपालिका, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, इटहरी, सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुस १४ गतेका दिन हुनेछ ।

 

Post Comments