News लगातार दोस्रोपटक फाइनलमा धनगढी
गोलनेपाल

काठमाडौं । गत संस्करणको उपविजेता समेत रहेको धनगढी फुटबल क्लब जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

सोमबार भएको पहिलो क्वालिफायरतर्फ धनगढीले पोखरा थन्डर्सलाई टाईब्रेकरमा हराउँदै फाइनलमा स्थान पक्का गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

दशरथ रंगशालामा खेलको पाँचौं मिनट मै आयुष घलानको गोलबाट पोखराले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको ५३औं मिनटमा देवेन्द्र तामाङले धनगढीका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछिको निर्धारित समयको खेल र अतिरिक्त समयको खेलमा पनि नतिजा बराबरी मै सकिएपछि टाईब्रेकरमा धनगढीले पोखरालाई ४–३ को अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो ।

हारका बावजुद पोखरालाई फाइनल प्रवेशको अवसर भने अझै कायम छ । पोखरालाई अब पुस १२ गते हुने दोस्रो क्वालिफायरतर्फ मंगलबार काठमाडौं र ललितपुर बीच हुने इलिमिनेटरको विजेतासँग खेल्ने अवसर हुनेछ ।

Post Comments