News बेलबारी इटहरी नगर कपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । बेलबारी नगरपालिका, मोरङ यहाँ जारी प्रथम इटहरी नगर कप अन्तर नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ बेलबारीले इनरुवा नगरपालिका, सुनसरीलाई सडन डेथमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ बेलबारीका लागि १८औं मिनटमा निकित तामाङले गोल गरेका थिए भने इनरुवाका लागि दोस्रो हाफको २३औं मिनटमा पृथ्वी चौधरीले गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने इनरुवा निराश बन्न पुग्यो ।

खेलमा बेलबारीका मुस्कान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे । प्रतियोगिता अन्तरगत पुस १० गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल इटहरी उपमहानगरपालिका, सुनसरी र दुहबी नगरपालिका, सुनसरी बीच हुनेछ ।

इटहरी फुटबल क्लब, इटहरी, सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुस १४ गतेका दिन हुनेछ ।

Post Comments