News इटहरी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । घरेलु टोली इटहरी उपमहानगरपालिका, सुनसरी यहाँ जारी प्रथम इटहरी नगर कप नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ इटहरीले दुहबी नगरपालिका, सुनसरीलाई शून्यका विरुद्ध २ गोलले हरायो । इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा इटहरीका लागि १३औं मिनटमा समिर राई र १९औं मिनटमा अभिषेक कालिकोटेले गोल गरे ।

खेलमा इटहरी कै सुमित चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस ११ गते बुधबारको पहिलो सेमिफाइनल खेल धरान उपमहानगरपालिका, सुनसरी र बेलबारी नगरपालिका, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, इटहरी, सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुस १४ गतेका दिन हुनेछ ।

Post Comments