News राइजिङ स्टार सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । संघर्षपुर्ण जितका साथ राईजिङ स्टार फुटबल क्लब, नवलपरासी यहाँ जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा राईजिङ स्टारले आयोजक फर्साटिकर युवा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ राईजिङ स्टारका लागि दुवै गोल मनिष पौडेलले गरे । फर्साटिकरका लागि भने टिकाराज गुरुङ र हरि कार्कीले गोल गरेका थिए । खेलमा निर्धारित समय मै फर्साटिकरले पेनाल्टीको अवसर पनि पाएको थियो । तर फर्साटिकरका मुकेश कुँवरको प्रहार विपक्षी टोलीका गोलरक्षक राहुल मुखियाले बिफल तुल्याईदिएका थिए ।

पेनाल्टी शुटआउटमा भने राईजिङ स्टारले फर्साटिकरमाथि ५–४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा राईजिङ स्टारका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच पनि चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत पुस १७ गते बिश्राम दिइएको खेल संयोजक अमृत खड्काले बताए । प्रतियोगिता अन्तर्गत पुस १८ गते बुधबारको पहिलो सेमिफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र हानामी बिएफसी, चितवनबीच हुने खेल संयोजक खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments