News दोस्रो केपी ओली कपको मिति तय, विजेताले ११ लाख पाउने
गोलनेपाल

काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा दोस्रो केपी ओली कप २०२४ फुटबल प्रतियोगिता आगामी फागुन ११ देखि २० गतेसम्म हुने भएको छ। 

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक राष्ट्रिय युवा संघलाई फागुन ११ देखि २० गतेसम्मको मिति उपलब्ध गराएको युवासंघका प्रवक्ता निरोज पौडेलले जानकारी गराए ।

एन्फाले प्रतियोगितामा सहभागी हुने टिम तथा क्लबहरु एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आबद्ध भएको हुनुपर्नेछ शर्त राखेको छ । प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने र त्यसपछि सहभागि टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ । नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार पाउने छन। यस्तै म्यान अफ दि म्याचलाई १५ हजार नगद प्रदान गरिनेछ।

स्मरण रहोस, गत वर्ष भएको प्रतियोगिताको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

 

Post Comments