News समपुर्ण ११औं फर्साटिकर कपको फाइनलमा
सुरज राना मगर

फर्साटिकर । उत्कृष्ट जितका साथ समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा समपुर्णले हानामी बिएफसी, चितवनलाई ५–३ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा शुरुवाती पहिलो हाफ एकतर्फी बन्यो । खेलको पाँचौं मिनट मै विज्ञान गुरुङको उत्कृष्ट गोलमा समपुर्णले खेलमा अग्रता बनायो । २०औं मिनटमा एलिस मगरले त्यो अग्रता दोब्बर बनाए भने ३०औं मिनटमा श्रृजन क्षेत्रीले तेस्रो गोल थपे ।

तर खेलमा बिएफसीले नाटकीय पूनःरागमन गर्यो । ३८औं मिनटमा समिर महतोले बिएफसीका लागि पहिलो गोल गरे । ४८औं मिनटमा अनिल राना मगरले दोस्रो गोल थपे भने ६०औं मिनटमा अभि लामाले तेस्रो गोल गर्दै खेल ३–३ को रोमाञ्चक बराबरीमा पुर्याए ।

त्यसपछि भने समपुर्ण फेरि हावी बन्यो । ७२औं मिनटमा रोशन दोङले पेनाल्टीमार्फत समपुर्णका लागि चौथो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा श्रृजन श्रेत्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै समपुर्णको उत्कृष्ट जित सुनिश्चित गरे ।

खेलमा समपुर्णका आकाश थापा मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस १९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल विश्व शान्ति युवा क्लब, सालझण्डी र राईजिङ स्टार एफसी, नवलपरासीबीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments