News समपुर्णलाई शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कपको उपाधि
सुरज राना मगर

फर्साटिकर । शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि समपुर्ण युवा क्लब, सुपौलीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा विश्व शान्ति युवा क्लब, सालझण्डीलाई टाईब्रेकरमा हराउँदै समपुर्ण च्याम्पियन बनेको हो ।

त्यसअघि फर्साटिकर उच्च माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने समपुर्णले विश्व शान्ति माथि ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

विजेता बनेको समपुर्णले उपाधिसहित नगद २,७५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता विश्व शान्तिले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । समपुर्णका गोलरक्षक अनुप राना फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पनि समपुर्ण कै अनुप राना बने । उत्कृष्ट डिफेन्डर पनि समपुर्णका देव गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार विश्व शान्तिका फागुराम थारुले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५,५५५ रुपयाँ र ट्रफी हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने विश्व शान्तिका कप्तान आकाश राना घोषित भए । उनले त्यसवापत नगद १०,५५५ रुपैयाँ र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवर, क्लबका संरक्षक चक्र कुँवर, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

स्थानीय खेलाडी, फुटबल र खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यका साथ फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा पुस ९ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, चितवनका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments