News सहज जितका साथ मानेभञ्ज्याङ सेमिफाइनलमा
गोलनेपाल

मानेभञ्ज्याङ । सहज जित निकाल्दै मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा यहाँ जारी प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ मानेभञ्ज्याङले हलेसी तुवाचुङ नगरपालिका, खोटाङलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो ।

मानेभञ्ज्याङको जितमा मानकृष्ण राई, अंकित राई, अरबिन्द राई र क्षितिज राईले गोल गरे । खेलमा मानेभञ्ज्याङ कै सजिन राई म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत पुस २२ गते आइतबारको पहिलो खेलमा १२ बजे प्रिक्वाटरफाइनलतर्फ साँगुरीगढी नगरपालिका, धनकुटा र लालीगुराँस नगरपालिका, तेह्रथुम भिड्ने छन् भने २ बजे हुने खेलमा माङ्सेबुङ गाउँपालिका, इलाम र बराहपोखरी गाउँपालिका भिड्ने आयोजकले जानकारी दियो ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

Post Comments