News माङ्सेबुङलाई प्रदेश स्थानीय तह अध्यक्ष कपको उपाधि
गोलनेपाल

मानेभञ्ज्याङ । रोमाञ्चक जितका साथ प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि माङ्सेबुङ गाउँपालिका, इलामले जितेको छ । फाइनलमा घरेलु टोली मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गालाई २–१ ले हराउँदै माङ्सेबुङ च्याम्पियन बनेको हो ।

माङ्सेबुङको जितमा टिकाराम योङ्गहाङ्ग र निर्मल राईले गोल गरे । पराजित मानेभञ्ज्याङका लागि मनकृष्ण राईले एक मात्र गोल फर्काएका थिए । विजेता बनेको माङ्सेबुङले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता मानेभञ्ज्याङले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ द म्याच माङ्सेबुङका प्रबिन साम्पाङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पनि माङ्सेबुङ कै आयुष योङ्गहाङ्ग घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि माङ्सेबुङका एलोन लिम्बुले हात पारे । सबैले जनही १०–१० हजार र मेडल हात पारे ।

प्रतियोगिताको उदियमान खेलाडी मानेभञ्ज्याङका चन्द्र सुन्दर श्रेष्ठ चुनिए । उनले त्यसवापत नगद ७ हजार र मेडल हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मानेभञ्ज्याङका राजु राई बने । उनले त्यसवापत नगद १५ हजार र मेडल प्राप्त गरे ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता, उपविजेता टोली तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments