News फिफा बेस्ट अवार्डमा नेपालबाट कसको मत कसलाई ?
गोलनेपाल

काठमाडौं । केही दिन अघि लण्डनमा सम्पन्न फिफा द बेस्ट अवार्ड कार्यक्रममा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पुरुषतर्फको बेस्ट अवार्ड जित्दा स्पेनकी आइताना बोनमतीले महिलातर्फको यो अवार्ड हात पारिन् ।

पुरुष र महिला विश्वकपमा यी दुवै खेलाडीले आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपर्ण भूमिका खेलेका थिए । स्मरण रहोस, प्रतिष्ठित बालोन डि’अर तर्फको यो अवार्ड पनि मेसी र बोनमतीले नै हात पारेका थिए ।

चर्चा अब फेरि द बेस्ट अवार्डको गरौं । फिफाले यो अवार्डका लागि आफ्नो सदस्य राष्ट्रहरुबाट फुटबल कप्तान, प्रशिक्षक र एक खेल पत्रकारलाई मताधिकार दिएको हुन्छ । यो मताधिकार राष्ट्रिय टोलीका कप्तान किरन चेम्जोङ, प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिस र गोलनेपाल डटकमका मिडियाकर्मी बिक्रम थापाले प्राप्त गरे ।

मत दिने कुरामा कप्तान किरन चेम्जोङले लियोनल मेसीलाई ५, फ्रान्सका किलियन एम्बाप्पेलाई ३ र अर्लिङ हालान्डलाई १ अंक दिएका छन् । त्यस्तै प्रशिक्षक भिन्सेन्जोले भने हालान्डलाई ५, स्पेनका रोड्रीलाई ३ र बेल्जियमका केभिन डि ब्रुइनलाई १ अंक दिएका छन् ।

त्यस्तै मिडियाकर्मी बिक्रम थापाले भने अर्लिङ हालान्डलाई ५ अंक दिए भने अर्जेन्टिनाका जुलियन अल्वारेजलाई ३ तथा मेसीलाई १ अंक दिएका थिए ।

Post Comments