News न्यु राईज कप: हरेक गोलमा नगद
सुरज राना मगर

बभनी । तिलोत्तमा–१३, बभनीमा जारी चौथो न्यु राईज कपको पहिलो सेमिफाइनलतर्फ गोलसँगै नगदको पनि बर्षा भएको छ । आयोजक न्यु राईज युथ क्लब, बभनी र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठृुटिपिपल बीच भएको सो खेलमा न्यु राईजले ५–१ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गर्यो ।

तर पहिलो सेमिफाइनल खेलको रोमाञ्चक माहोल त्यति मै सिमित बनेन । खेलमा गोल गर्ने दुवै टोलीका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगदले पनि पुरस्कृत गरियो ।

आयोजक न्यु राईज क्लका शुभेच्छुक समेत रहेका खेलका अतिथी कमल केसीले न्यु राईजको जितमा ह्याट्रिक गरेका एरोन थापालाई ५ सयको दरले १५०० दिए । त्यस्तै एक–एक गोल गरेका आयोजक क्लबकै मनिष पुन, आयुष गुरुङ र विपक्षी टोली नवयुवाका अनुज गैरेले पनि जनही ५ सयका दरले नगदसहित पुरस्कृत गरे ।

सोही अवसरमा अर्का दुई शुभेच्छुक चित्र भण्डारी र प्रेम भण्डारीले पनि न्यु राईजका गोलरक्षक युगल थापा मगरलाई प्रोत्साहन स्वरुप १५०० नगदसहित पुरस्कृत गरे ।

स्थानीय फुटबलमा स्थानीय खेलाडीहरुलाई हौसला प्रदान गर्न पाउँदा आफुहरुलाई पनि खुशी लागेको उनीहरुले प्रतिक्रिया दिए ।

Post Comments