News रुपन्देहीमा लगातार तेस्रो फाइनल खेल्दै समपुर्ण
सुरज राना मगर

बभनी । रुपन्देहीमा यस सिजन उत्कृष्ट लयमा देखिएको समपुर्ण युवा क्लब, सुपौलीले जिल्लाभित्र लगातार तेस्रो फाइनल खेल्ने तय भएको छ । तिलोत्तमा–१३, बभनीमा जारी स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कपको फाइनलमा प्रवेश गरेसँगै समपुर्ण सिजनको लगातार तेस्रो उपाधि नजिक पुग्न पनि सफल भएको हो ।

स्मरणीय छ, समपुर्णले यसअघि आफ्नै घरेलु मैदानमा भएको दोस्रो समपुर्ण कप र गत महिना सम्पन्न शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कपको उपाधि जितेको थियो । न्यु राईज कप जिते रुपन्देहीको स्थानीय फुटबलमा समपुर्णको यो उपाधिमाथि ह्याट्रिक पनि हुनेछ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा समपुर्णले डि युनिटी क्लब, खैरेनीलाई टाईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ डि युनिटीका लागि अशिम नेपालीले गोल गरे भने समपुर्णका लागि निखिल पुनले गोल गरेका थिए ।

टाईब्रेकरमा भने समपुर्णले डि युनिटीमाथि ३–२ को जित निकाल्यो । खेलमा समपुर्णका गोलरक्षक अनुप राना म्यान अफ द म्याच चुनिए । समपुर्णले माघ ६ गते शनिबार नै हुने फाइनलमा आयोजक न्यु राईज युथ क्लब, बभनीसँग उपाधिका लागि भिड्नेछ ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।

Post Comments