News मकवानपुर गोल्डकपः उत्कृष्ट खेलाडीलाई बुलेट बाइक, उत्कृष्ट खेल पत्रकारलाई नगद सहित सम्मान
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही माघ १६ देखि २७ गतेसम्म हुन गईरहेको स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीले यस वर्ष पनि एक थान बुलेट बाइक प्राप्त गर्ने भएका छन् ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले प्रतियोगितामा यसपटक पनि उत्कृष्ट खेलाडीलाई बाइक दिने बताए । यसपटक उक्त बुलेट बाइक पुरस्कारको प्रायोजन स्व. परशुराम स्मृति प्रतिष्ठानका प्रमुख हेटौडा–४ निवासी युवा व्यवसायी सन्तोष गौतमले गरेका छन् ।

स्मरणीय छ, गत वर्ष यो अवार्ड प्रतियोगिताको विजेता टोली मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दिप कार्कीले हात पारेका थिए । मनाङले गत वर्ष फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

उत्कृष्ट खेल पत्रकारलाई ५० हजार

त्यसैगरी आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले यसपटक उत्कृष्ट खेल पत्रकारलाई पनि सम्मान गरिने जानकारी दिए । देशको चौथो अंगका रुपमा रहेको सञ्चार कै कारण हरेक क्षेत्र चलायनमान रहेकाले खेलकुद गतिविधी पनि मिडिया बिना अपुरो रहने अध्यक्ष लामाको भनाई थियो ।

खेल पत्रकारिकता कै माध्यमबाट मकवानपुर र जिल्लाको खेलकुदमा विशेष योगदान पुर्याउने एक खेल पत्रकारलाई नगद ५० हजारसहित सम्मान गरिने अध्यक्ष लामाले बताए । साथै यस्ता कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उनले प्रतिक्रिया दिए ।

 

Post Comments