News शानदार जितसँगै आयोजक इलाम गोल्डकपको सेमिफाइनमा
रमेश समदर्शी

इलाम । आयोजक रेडहर्ष एफसी इलाममा शनिबारदेखि सुरु प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा पाहुना टोली मानेभञ्ज्याङ एफसीलाई सहजरुपमा पराजित गर्दै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इलामले ४-० गोलअन्तरमा पाहुना टोलीलाई पाखा लगाएको हो ।

इलामका लागि कप्तानी सम्हालेका नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरे भने उत्सव राईको नाम एक गोल रह्यो । सुरुवाती गोल खेलको १३औँ मिनेटमा उत्सव राईले गरेका हुन् । करिब २५ यार्डको दूरीबाट उत्सव राईले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

एकोहोरो दबाब सिर्जना गरेको आयोजक टोलीका लागि ५५औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए । उनैले ६५ र ८२औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे ।

घरेलु मैदानमा घरेलु समर्थन पाएको आयोजकका लागि उद्घाटन खेलको म्यान अफ दी म्याच नवयुग श्रेष्ठ भए । उनले नगद पाँच हजारसहित ट्रफी पाए ।

 
Post Comments