News चक्रलाई यु–१६ महिला फुटबल टोलीको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । पूर्व खेलाडी तथा प्रशिक्षक चक्र तामाङले राष्ट्रिय यु–१६ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । यो जिम्मेवारीसँगै आगामी मार्च १ तारीख (फागुन १८ गते) देखि च्यासल स्टेडियममा हुने साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपाली टोलीको जिम्मेवारी पनि तामाङले नै सम्हाल्ने छन् ।

त्यस्तै चक्र तामाङको सहायकमा भगवती थापा र पासाङ तामाङलाई नियुक्त गरिएको छ । गोलकिपिङ प्रशिक्षकमा भने गंगाराम देउजालाई नियुक्त गरिएको छ । नियुक्त भएका सबै प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तपत्र हस्तान्तरण गरे ।

स्मरण रहोस, यसपटक साफ यु–१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालसहित, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने लिग चरणको खेल पश्चात् शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १० मार्चका दिन हुनेछ ।

Post Comments