News २३औं आहा! रारा पोखरा गोल्डकप शुरु, थ्रीस्टारको विजयी शुरुवात
उमेश पुन

पोखरा । मोफसलको प्रतिष्ठित र पुरानो मध्ये एक २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब, ललितपुरले विजयी शुरुवात गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा थ्रीस्टारले आयोजक सहारा क्लब, पोखरालाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको पाँचौं मिनटमा योगेश गुरुङको गोलबाटा थ्रीस्टारले अग्रता बनाएको थियो ।

तर २३औं मिनटमा आशिष गुरुङले सहाराका लागि बराबरी गोल फर्काए । खेल रोमाञ्चक बराबरी मै रहेका बेला ५९औं मिनटमा अन्जल महर्जनले थ्रीस्टारका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै थ्रीस्टार क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा थ्रीस्टारका योगेश गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १० गते बुधबारको खेल राईजिङ स्टार फुटबल क्लब, नवलपरासी र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंबीच हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । सहारा क्लब, पोखराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments