News देउरालीलाई प्रथम पौवादुङ्मा गोल्डकपको उपाधि
गोलनेपाल

च्याङग्रे । यहाँ सम्पन्न प्रथम पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देउराली फुटबल क्लब, च्याङग्रेले जितेको छ । फाइनलमा आम्तेक–११, खोटाङलाई ३–२ ले हराउँदै देउराली च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल भिडन्तमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक सुवास तामाङले गरे । उता आम्तेकका लागि दुवै गोल निशान लिम्बुले गरे ।

विजेता बनेको देउरालीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आम्तेकले २ लाखमा चित्त बुझायो । देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट खेलाडी देउराली कै बिबेक राई घोषित भए । उत्कृष्ट गोलरक्षक देउराली कै चरी लिम्बु बन्दा उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भए ।

उत्कृष्ट मिडफिल्डर आम्तेकका रोशन भुजेल बन्दा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक कै निशान लिम्बुले हात पारे ।

पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा माघ १ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments