News एनआरटी प्रथम एनआरएनए इलाम गोल्डकपको फाइनल
रमेश समदर्शी

अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्ष एफसीको इलाम गोल्डकपको फाइनल पुग्ने सपनाबाट बञ्चित भएको छ ।

काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)विरुद्ध लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक सेमिफाइनलमै स्तब्ध बन्यो ।

आज भएको प्रतिस्पर्धात्मक खेलमा आयोजकले खेलको ४२औँ मिनेटमा अग्रता बनाएको थियो । कप्तान नवयुग श्रेष्ठको गोलबाट लिएको अग्रता ८८औँ मिनेटसम्म कायम रहे पनि हार टार्न भने इलामले सकेन ।

निर्धारित ९०औँ मिनेटको खेलमा आयोजकले अन्तिम दुई मिनेट सम्हालिन नसक्दा एनआरटीका लागि ग्लोरीले गोल गर्दै खेलमा फर्काए । बराबरी खेलको छिनोफानो सडन डेथबाट भएको थियो ।

टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भएको थियो । सडन डेथमा भने आोजकका एकराज बुढाथोकीको प्रहार आकासिँदा एनआरटीका राजीव लोप्चनको प्रहार गोलमा परिणत भएको थियो । सोही गोलले एनआरटीले फाइनल यात्रा तय गर्यो ।

टाइब्रेकरमा आयोजकका लागि विशाल घलान, पिकेश लोक्ताम, शरण विक्राम सिंह बस्नेतको प्रहारमात्र गोलमा परिणत हुँदा कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए ।

यस्तै, एनआरटीका प्रिसो, जय गुरुङ, सुमित श्रेष्ठको प्रहारमात्र गोलमा परिणत हुँदा सनम लिम्बूको प्रहार क्रस बारमा लाग्दै भित्रिएको थियो भने ग्लोरीको प्रहार आयोजकका गोलरक्षक विवेक मगरले रोकेका थिए ।

पहिलोपल्ट इलामको प्रतियोगितामा सहभागिता जनाएको एनआरटीका गोलरक्षक प्रिसो म्यान अफ दी म्याचा बने । उनलाई एनएसएल टोली स्पोर्टिङ इलामका प्रमुख सुहाङ नेम्बाङले नगद ५ हजार प्रदान गरे ।

रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि (बिहीबार) झापाको बिर्तामोड युनाइटेडले पाँचथर एफसीसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।

Post Comments