News पोखरा गोल्डकपः जावलाखेलसँग मच्छिन्द्र स्तब्ध
उमेश पुन

पोखरा । साँघुरो अन्तरको जित निकाल्दै जावलाखेल युथ क्लब यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले स्टार खेलाडीहरुले भरिएको दावेदार मध्ये एक मच्छिन्द्र फुटबल क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा जावलाखेलका लागि हिसुब थपलियाले गरेको एक मात्र गोल टोलीका लागि निर्णायक गोल बन्यो ।

सुशिल कुमार यादवले मिलाइएको सुन्दर पासलाई सदुपयोग गर्दै हिसुबले विपक्षी रक्षक र गोलरक्षकलाई बिट गर्दै निर्णायक गोल गरे । निर्णायक गोलकर्ता हिसुब नै खेलको म्यान अफ द म्याच चुनिए । बिमल घर्ती मगर, मनिष डाँगी, सनिस श्रेष्ठ जस्ता खेलाडीहरुलाई मैदानमा उतारेको मच्छिन्द्रले नतिजा भने आफ्नो पक्षमा पार्न सकेन ।

प्रतियोगिता अन्तर्गत माघ १२ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments