News विभागीय भिडन्तमा पुलिस सफल
उमेश पुन

पोखरा । २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फको विभागीय भिडन्तमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो क्वाटरफाइनल यात्रा तय गर्यो । पुलिसको जितमा दुवै गोल मान बहादुर परियारले गरे ।

परियारले पहिलो हाफको १९औं मिनटमा र दोस्रो हाफको ७१औं मिनटमा दुवै गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले । निर्णायक बनेका परियार नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १३ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल थ्रीस्टार क्लब र भुटानको पारो फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments