News स्व. सुशिल मगर र संजय लामा स्मृति डिवाइसी आहना कप शुरु
सुरज राना मगर

बुटवल । ‘खेल सबैका लागि, सधैका लागि’ भन्ने नाराका साथ आहना फुटबल क्लब, बुटवलको संयुक्त आयोजनामा स्व. सुशिल मगर र संजय लामा स्मृति प्रथम डिवाइसी आहना कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

बुटवल–११, देवीनगर स्थित वाणिज्य क्याम्पसको खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा खस्यौली फुटबल क्लबले दोभान फुटबल क्लबलाई टाईब्रेकरमा १–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा खस्यौलीका गोलरक्षक अनुप थापा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा नव टिकुलीगढ युवा क्लबले सौभाग्य युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । टिकुलीगढका लागि अमित कठरियाले दुई गोल गरे भने थप एक गोल हिमाल थापाले गरे । टिकुलीगढका लागि दुई गोल गरेका अमित कठरिया म्यान अफ द म्याच समेत घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ राष्ट्रिय फुटबल प्रशिक्षक यम प्रसाद गुरुङ, युवा खेल अभियन्ता नकुल शाही ठकुरी, आयोजक क्लबका अध्यक्ष अनिष पौडेल क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।

यही माघ २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने खेल संयोजक राजकुमार थापाले जानकारी दिए । प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएको पनि संयोजक थापाले बताए ।

Post Comments