News मकवानपुरे फुटबलका ‘अमिट’ बन्दै टिका
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । बागमती प्रदेशको मकवानपुर जिल्लालाई त्यसै फुटबलको उर्वर भुमि भनिएको होईन । मकवानपुरमा खेलाडी मात्र नभई फुटबललाई हाँक्ने र फुटबल विकासमा निरन्तर लागि पर्ने धेरै जुझारु ब्यक्तित्वहरुको सूची पनि लामो छ ।

त्यही सूचीमा अहिले छुटाउनै नहुने नाम बनेको छ, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा । मकवानपुरको फुटबल बिकास कै लागि भनेर आफ्नो गर्जो टार्ने बङगुर फर्मको बुङगुरको बच्चा समेत बेचेर फुटबलमा लगानी गरेको उनलाई हिंजो जस्तो लाग्छ ।

हिजोको दिनमा कुनै ए डिभिजन क्लबलाई खेलाडी चाहिँदा पुर्व र आसपासका अन्य जिल्लाहरुका खेलाडीहरु क्लबको पहिलो रोजाईमा हुन्थ्यो । तर अहिले मकवानपुर जिल्लाका खेलाडीहरु पनि ए डिभिजन क्लबहरुको पहिलो रोजाईमा पर्छन् ।

पछिल्लो समय जिल्लाको फुटबलस्तरसँगै यहाँका खेलाडीहरुको स्तरमा पनि सकेको सहयोग गर्न पाउँदा लामा खुशी र उत्साहित पनि छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य समेत रहेका लामा भन्छन, “मेरो कार्यकालमा जिल्लालाई सकेसम्म फुटबलमय बनाउने योजना छ । क्षमता बोकेका कुनै पनि फुटबल खेलाडीहरु अवसरबाट बञ्चित हुन नपरोस भनेरै म दिनरात नभनी लागिपरेको छु ।”

यति भन्दै गर्दा लामा आफ्नो अतित पनि सम्झिन्छन् । स्कुल लेभलमा एथलेटिक्सको च्याम्पियन समेत रहेका उनको झुुकाव खेलकुद मै थियो । तर, आम मध्यमवर्गीय नेपाली युवा जस्तै ‘खाउखाउ र लाउलाउ’ भन्ने उमेरमा आर्थिक समस्याका कारण उनी पनि बिदेशिए ।

वैदेशिक रोजगारीका लागि कतार जाने तरखर मै रहँदा उनले वि.सं. २०६३ सालमा मकवानपुरमा एफसी पोताला फुटबल क्लब पनि स्थापना गरे । उनको तन विदेश भए पनि मन नेपाली फुटबलतिरै थियो ।

आफू पनि एक समयको फुटबल खेलाडी रहेको र सानै उमेरदेखी फुटबलमा रुचि राख्ने लामाले बिदेशबाट फर्किए लगतै ‘मकवानपुरको फुटबलमा केही गर्नुपर्छ’ भनेर योजना बुनेरै अगाडी बढ्न थाले ।

आफैले स्थापना गरेको एफसी पोतालालाई मकवानपुरको लिग च्याम्पियन बनाए । त्यो पनि एकपल्ट नभई चारपल्ट । क्लबलाई जिल्ला बाहिर पनि सहभागि गराई मकवानपुरे फुटबलको परिचयलाई थप माथी उठाउन लागि परे ।

फुटबल खेलाडीहरुको बाध्यता र दैनिकीलाई बुझेका लामाले ‘खेलाडीहरुले आफ्नो पारिश्रमिक पाउनु पर्छ’ भनेर उनले ब्यवसायिकरण गर्नको लागी आफ्नै क्लबबाट खेल्ने खेलाडीहरुलाई पारिश्रमिक दिने एफसी पोतालालाई मकवानपुरको पहिलो क्लब समेत बनाए ।

उनले खेलाडीहरुको लागी गरेको यो कार्यले खेलाडीहरु त खुशी थिए तर क्लब संचालकहरुको भने टाउको दुखाईको बिषय बनेको लामा सम्झिन्छन् । तर पनि उनले आफ्नो यो निर्णयलाई कार्यान्वयन गराएर निरन्तरता दिएरै छाडे ।

फुटबलमा उनको झुकाव त्यति मै सिमित रहेन । फुटबललाई राम्रो नेतृत्व प्रदान गर्न सके जिल्लाको फुटबल अझै राम्रो हुने उनको बुझाई थियो । त्यसकै परिकल्पना गर्दै वि.सं. २०७४ मा उनी मकवानपुर जिल्ला फुटबल संघको गरिमामय अध्यक्ष पदमा समेत निर्वाचित भए ।

लगतै उनले संघको आफ्नै कार्यालय स्थापना गरेर चौतर्फी प्रशंसा बटुले । उनको मन भने अझै फुटबलका लागि केही गर्नु थियो । उनी नेतृत्वमा आएपछि एन्फाले देशकै सक्रिय फुटबल संघको सूचीमा मकवानपुरलाई शिर्षतामा राख्यो ।

मकवानपुर जिल्लाको फुटबल नेतृत्वमा आए पनि अध्यक्ष लामालाई फुटबल गतिविधी भने अझै सुस्त नै रहेको आभास भयो । वि.सं. २०६३ सालमा पहिलो संस्करण आयोजना भए यता शहिद स्मृति मकवानपुर गोल्डकपलाई निरन्तरता दिन पहल शुरु गरे ।

फलस्वरुप जिल्लाका स्थानीय तह, खेलकुद निका तथा व्यापारीक घरानाहरुसँग समन्वय गरी वि.सं. २०७५ सालमा मकवानपुर गोल्डकपको दोस्रो संस्करण आयोजना गर्न सफल भए । अहिले यो प्रतियोगिता देश कै प्रतिष्ठित र उत्कृष्ट मध्ये एक प्रतियोगिताका रुपमा चिनाउन लामाको योगदान पनि अहम छ भन्दा अनर्थ नहोला ।

सबैसँग मिल्न सक्ने मिजासिला स्वभावका लामाकै पहलमा वि.सं. २०७७ साल बाट स्थानिय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल दिने कार्यको शुरुवात भयो र अहिलेसम्म त्यो निरन्तर जारी छ ।

नेपाली फुटबलको ईतिहासमा मोफसलको प्रतियोगितामा सर्बाधिक पुरस्कारको बुलेट बाईक दिने पहिलो जिल्ला बनाउन पनि लामा सफल भए । समग्रमा शुन्य जस्तै रहेको मकवानपुरे फुटबललाई उनले फेरि जिवन्तता दिने काम गरे ।

‘कर्म गर्ने तर फलको आशा नगर्ने’ स्वभावका लामाको कुशल कार्यक्ष् ामता कै कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई फुटसल समितिको संयोजकको जिम्मेवारी पनि दिएको छ । तर पनि उनको झुकाव फुटबल मै बढी छ ।

उमेरले चार दशक पुगिसकेका लामा सधै केही नयाँ गर्नुपर्छ भन्ने सोंच राख्छन् । उनी अब जिल्ला मै निरन्तर ग्रासरुट फुटबल आयोजना गर्ने योजनामा छन् । र, जिल्लाबाटै फेरि उत्कृष्ट खेलाडीहरु उत्पादन होस भन्ने उनको चाहना पनि छ ।

जस्तो सुकै परिस्थितिमा पनि सबैलाई मिलाएर लैजाने खुबी भएका लामाले मकवानपुरको फुटबल कै कारण नेपाली फुटबलले फेरि नयाँ उचाईं लिन सकोस भन्ने चाहन्छन् । र, आफू त्यसकै लागि निरन्तर लागिपरेका छन् ।

 

Post Comments