News अन्तिम चारमा आर्मी
उमेश पुन

पोखरा । प्रभावशाली जितका साथ त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ आर्मीले साविक विजेता संकटा फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा भएको खेलमा आर्मीका लागि दिनेश हेन्जनलेृ दुई गोल गरे भने थप एक गोल जिलेस्पी जंग कार्कीले गरे ।

खेलमा आर्मीका लागि दुई गोल गरेका दिनेश हेन्जन म्यान अफ द म्याच पनि चुनिए । प्रतियोगिता अन्तर्गत माघ १५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments