News रिगल रिसोर्ट हेटौंडा तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

एलिश क्षेत्रीको ह्याट्रिकको मद्दतबाट रिगल रिसोर्ट हेटौंडा बारामा जारी तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी मैदानमा आइतबार भएको खेलमा हेटौंडाले रौतहट फूटबल क्लबलाई ५–१ ले पराजित गरेको हो ।

हेटौंडाको फराकिलो जीतमा एलिश क्षेत्रीले ह्याट्रिक गरे । हेटौंडाका लागि थप दुई गोल सुदिप सापकोटा र सरोज राईले गरेका थिए । रौतहटका लागि भने राजु पहरीले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा सुदिपको गोलबाट हेटौंडाले अग्रता लिएको थियो । तर रौतहटका राजुले ३९औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतिस्पर्धात्मक खेलको ६७ औं मिनेटमा एलिशले गोल गर्दै खेल २–१ को स्थितीमा पुर्‍याए ।

खेलमा अग्रता दिलाएका एलिशले ७८ र ८१ औं मिनेटमा लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । हेटौंडाका लागि सरोज राईले पाचौं गोल गरेका थिए । एलिश खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार हानामी एफसी चितवन र वीरगन्ज युनाईटेडबीच खेल हुनेछ । मौवादेवी युवा क्लबद्धारा आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता माघ २० गते समापन हुनेछ ।

Post Comments