News एसियन कपः जोर्डन र कतार क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । रोमाञ्चक जितका साथ जोर्डन र आयोजक कतार जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारी शहर अल रयन स्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ जोर्डनले इराकमाथि ३–२ को जित निकाल्यो ।

खेलको पहिलो हाफतर्फ इन्जुरी समयमा याजन अल–नैमतको गोलबाट जोर्डनले खेलमा अग्रता बनाएको थियो । तर ६८औं मिनटमा साद नतिकले इराकका लागि बराबरी गोल फर्काए । लगतै ७६औं मिनटमा आइमन हुसेनले गोल गर्दै इराकलाई खेलमा २–१ को स्थितिमा ल्याए । गोल गरे लगतै हुसेनले रातो कार्ड खाँदै मैदान छाड्दा इराक दश खेलाडीमा खुम्चियो ।

जसको फाईदा जोर्डनले उठायो । इन्जुरी समयको ९०+५औं मिनटमा याजन अल अरबले जोर्डनका लागि दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए भने लगतै निजार अल–रशदानले तेस्रो गोल गर्दै जोर्डनको नाटकीय जित पक्का गरे ।

खेलको अन्तिमतिर जोर्डन पनि दश खेलाडीमा खुम्चियो । तर, टोलीको जितमा त्यसले बाधा परेन । जोर्डनका हम्जा अल–दार्दुरले रातो कार्ड खाँदै मैदान छाडे तापनि जोर्डनले भने जित सुनिश्चित गरिसकेको थियो ।

डिफेन्डिङ च्याम्पियन कतारको लय पनि जारी

त्यस्तै उपाधि जोगाउने अभियानमा रहेको साविक विजेता तथा आयोजक कतारले पनि चौथो प्रिक्वटरफाइनलतर्फ सोमबार राती प्यालेस्टाइनमाथि २–१ को जित निकाल्यो । कतारको जितमा हसन अल–हैदोस र अकरम अफिफले गोल गरे । पराजित प्यालेस्टाइनका लागि ओडे दबागले गोल गरे तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

 

Post Comments