News स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सँिन्जवनी कप शुरु
सुरज राना मगर

देवीनगर । सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा मंगलबारदेखि स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले विजयी शुरुवात गर्यो ।

तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको उद्घाटन खेलमा नवयुवाले डिएमसी, तुलसीपुरलाई ३–१ ले हरायो । नवयुवाको जितमा संगम सोमरेले दुई गोल गरे भने थप एक गोल बिशाल सुनारले गरे । उता पराजित डिएमसीका लागि प्रबिन थापाले एक मात्र गोल फर्काए ।

यो जितसँगै नवयुवा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा दुई गोल गरेका नवयुवाका संगम सोमरे म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १७ गते बुधबारको खेल न्यु सिर्जना युवा क्लब, करौजिया र जनज्योति क्लब, डिङ्गरनगरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, विशिष्ट अतिथी श्रीमाया गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, तिलोत्तमा वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्बिन पौडेल, आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु) लगायतले संयुक्त रुपमा गरेका थिए ।

स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।

 

Post Comments