News आर्मी फाइनलमा, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने
उमेश पुन

पोखरा । त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी २३औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीका लागि दिनेश हेन्जन र राश मगरले गोल गरे भने चर्च ब्वाईजका लागि समिर तामाङले गोल गरेका थिए । खेलमा आर्मीका बिमल पाण्डे म्यान अफ द म्याच घोषित भए ।

आर्मीले माघ २० गतेका दिन हुने फाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ । स्मरण रहोस, थ्रीस्टारले पहिलो सेमिफाइनलतर्फ जावलाखेल युथ क्लबलाई हराउँदै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

मोफसलको परिचित सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।

Post Comments