News वीरगन्ज युनाइटेडले उचाल्यो मनहर्वा गोल्डकपको उपाधी
गोलनेपाल

वीरगन्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधी उचालेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रिगल हेटौंडा रिसोर्टलाई २–० ले पराजित गर्दै वीरगन्जले उपाधी उचालेको हो ।

वीरगन्जको जीतमा बिशाल खड्का र अमर डंगोलले समान एक-एक गोल गरे । बिशालको गोलबाट खेलको ३५ औं मिनेटमा अग्रता लिएको वीरगन्जका लागि अमरले ८८ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा हेटौंडाले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै उपाधी होडमा उभिएको हेटौंडा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

उपाधी विजेताले वीरगन्जले दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौंडाले एक लाख प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ वीरगन्जले वर्चश्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वीरगन्जका अमर डंगोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारे ।
यसैगरी उत्कृष्ट गोलरक्षक वीरगन्जका दिलमणी चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौंडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधी आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच वीरगन्जका सागर चौधरी घोषित भएका छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं. १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष बसन्त खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए । माघ १३ गतेदेखि आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

Post Comments