News बि.टी.एफसी बन्यो च्याम्पियन
गोलनेपाल

इटहरी । यहाँ सम्पन्न स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि बि.टी.एफसी, तेह्रथुमले जितेको छ । फाइनलमा सिंहदेवी फुटबल क्लब, धनकुटालाई ४–१ ले हराउँदै बि.टी.एफसी च्याम्पियन बनेको हो ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको फाइनल भिडन्तमा बि.टी.एफसीका लागि शिशिर लेखीले दुई गोल गरे भने ज्ञानेन्द्र भण्डारी र प्रदिप बुढाथोकीले थप एक–एक गोल गरेका थिए । उता पराजित सिंहदेवीका लागि भुवन बस्नेतले एक मात्र गोल फर्काएका थिए ।

विजेता बनेको बि.टी.एफसीले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता सिंहदेवीले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । बि.टी.एफसी. का शिशिर लेखी फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक बि.टी.एफसी. कै प्रेम लिम्बु चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार सिंहदेवीका भुवन बस्नेत, बि.टी.एफसी. का शिशिर लेखी, ज्ञानेन्द्र भण्डारी तथा धरानका मिलन राईले संयुक्त रुपमा हात पारे । सबैले जनही २५–२५ सय हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने सिंहदेवीका असिम राई घोषित भए । उनले त्यसवापत नगद १५ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री डिक बहादुर लिम्बु लगायतले पुरस्कृत गरेका थिए ।

द योङ्ग ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा गत माघ १३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments