News समपुर्ण छैठौं सन्जिवनी कपको सेमिफाइनलमा
सुरज राना मगर

देवीनगर । समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिललाई टाईब्रेकरमा हराउँदै समपुर्ण अन्तिम चारमा प्रवेश गरेको हो ।

तिलोत्तमा–१४, बागधुरा स्थित सन्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने समपुर्णले नवयुवामाथि ५–३ को जित निकाल्न सफल भयो ।

खेलमा समपुर्णका गोलरक्षक टोप बहादुर राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक सन्जिवनी युवा क्लब, बागधुरा र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments