News फर्साटिकर उपाधि नजिक, फाइनलमा झरनासँग भिड्ने
सुरज राना मगर

देवीनगर । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा फर्साटिकरले समपुर्ण युवा क्लब, सुपौलीलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ समपुर्णका लागि उदय मगर, सबी गुरुङ र गणेश हमालले गोल गरेका थिए भने फर्साटिकरका लागि दुई गोल आशिष राना र थप एक गोल सुजन रानाले गरेका थिए ।

टाईब्रेकरमा भने फर्साटिकरले समपुर्णमाथि ४–२ को जित निकाल्यो । खेलमा फर्साटिकरका लागि दुई गोल गरेका आशिष राना म्यान अफ द म्याच घोषित भए । फर्साटिकरले माघ २७ गते शनिबार हुने फाइनलमा झरना स्पोर्टस क्लब, कुन्जलापुरसँग उपाधिका लागि भिड्नेछ ।

स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।

Post Comments