News कतार बन्यो फेरि एसियाको च्याम्पियन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साविक विजेता तथा आयोजक कतार शनिबार सम्पन्न एएफसी एसियन कपको लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा कतारले जोर्डनलाई ३–१ ले हरायो ।

लुसैल स्टेडियममा भएको खेलमा प्रतियोगिता भरि उत्कृष्ट लयमा देखिएका अकरम अफिफले ह्याट्रिक गरे । खेलको २२औं मिनटमा अफिफको गोलबाट कतारले खेलमा अग्रता बनाएको थियो । तर, ६७औं मिनटमा याजन अल–नैमतले जोर्डनका लागि बराबरी खेलेका थिए ।

यद्यपि खेलको ७३औं मिनटमा र अन्तिमतिर इन्जुरी समयमा अफिफले नै पेनाल्टीबाट लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे भने घरेलु टोलीलाई उपाधि जिताउन र उपाधि रक्षा गर्न पनि निर्णायक भूमिका खेले ।

विधागततर्फ पनि कतार कै वर्चश्व

त्यस्तै विधागततर्फको पुरस्कारमा पनि कतार कै वर्चश्व रह्यो । प्रतियोगिता भरि कुल ८ गोल गरेका अकरम अफिफले सर्वाधिक गोलकर्ता बने वापत गोल्डेन बुट र प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बने वापत गोल्डेन बल पनि हात पारे ।

उत्कृष्ट गोलरक्षक कतार कै मिशाल बर्शम घोषित भए भने फेयर प्ले पुरस्कार पनि कतारले नै हात पार्यो । गत १२ जनवरीदेखि शुरु भएको एसियाको प्रतिष्ठित फुटबल प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको आगामी संस्करण सन् २०२७ मा साउदी अरेबियामा हुनेछ ।

Post Comments