News मकवानपुर गोल्डकपः एपिएफका अनिषलाई बुलेट बाईक
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । शनिबार सम्पन्न छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकपको विजेता बनेको एपिएफ फुटबल क्लबका अनिष महर्जन प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । त्यसवापत अनिषले बुलेट बाईक हात पारेका छन् ।

स्मरण रहोस, फाइनलमा एपिएफले नयुरोडटिम (एनआरटी) लाई सडन डेथमा ५–४ ले हराउँदै उपाधि जितेको थियो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । विजेता बनेको एपिएफले उपाधिसहित १५ लाख हात पार्दा एनआरटीले १० लाखमा चित्त बुझायो ।

अन्य व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक एपिएफका अन्जल श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्डर एपिएफका कुलदिप कार्की बन्दा उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ चुनिए ।

उत्कृष्ट फरवार्ड एनआरटी कै जोन ग्लोरी बन्दा उत्कृष्ट प्रशिक्षक एपिएफका सुमन श्रेष्ठ घोषित भए । फाइनल खेलको म्यान अफ द म्याच पुरस्कार वापत एपिएफका अन्जल श्रेष्ठले १० हजार हात पारे भने अन्य विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार प्राप्त गरे ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा गत माघ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments