News आयोजक हिमालयन बन्यो च्याम्पियन
गोलनेपाल

काठमाडौं । मलेसियामा रहेका प्रवासी नेपालीहरु बीच भएको छैठौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेको छ । मलेसियन शहर सेलंगोर स्थित पानासोनिक स्टेडियममा भएको फाइनल भिडन्तमा हिमालयनले आरटी एफसीलाई पेनाल्टी शुटआउटमा हराउँदै चयाम्पियन बनेको हो ।

विजेता बनेको हिमालयनले उपाधिसहित नगद ३५ हजार मलेसियन रिंगिट हात पार्यो भने उपविजेता आरटीले १५ हजार मलेसियन रिंगिटसहित ट्रफी, मेडल प्राप्त गर्यो । त्यस्तै जेबी युनाइटेड प्रतियोगिताको फेयर प्ले टिम घोषित भयो ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक आरटी एफसीका अरुण तामाङ चुनिए भने उत्कृष्ट डिफेन्डर हिमालयनका राजकुमार कुमाल घोषित भए । उत्कृष्ट मिडफिल्डर आरटी एफसीका शनि चौधरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार हिमालयनका रोशेस श्रेष्ठले हात पारे ।

अनुशासित खेलाडी हिमालयन कै अजित चौधरी चुनिंदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयनका गोलरक्षक राजकुमार लिम्बु घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले ५००–५०० रिंगिटसहित ट्रफी हात पारे ।

हिमालयन स्पोर्टस एण्ड रिक्रियशनल क्लब, मलेसियाको आयोजनामा भएको प्रतियोगितामा कुल २६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments