News आरकेएफसी र रोहिणीको जित
सुरज राना मगर

चरङ्गे । आरकेएफसी र रोहिणी एफसी यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको दिनको पहिलो खेलमा आरकेएफसीले पिवाइपीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा आरकेएफसीका अनुज गैरे म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा रोहिणीले झरना स्पोर्टस क्लब, कुन्जलापुरलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा रोहिणीले ४–३ को जित निकाल्यो ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापा मगरले बताए । फाइनल खेल यही फागुन ११ गतेका दिन हुनेछ ।

Post Comments