News आयोजक नव युवा सेमिफाइनलमा
सुरज राना मगर

सुर्यनगर । आयोजक नव युवा क्लब, सुर्यनगर, बर्दघाट यहाँ जारी आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । बुधबार भएको तेस्रो क्वाटरफाइनलमा नव युवाले हानामी बि.एफ.सी., चितवनलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि बर्दघाट स्थित सुर्यनगर रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने नव युवाले बि.एफ.सी. माथि ५–४ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

खेलमा नव युवाका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ३ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बागमती युवा क्लब, सर्लाही र बिरगंज युनाइटेड बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

 

Post Comments