News वार्ड नम्बर १ लाई बराहक्षेत्र मेयर लिग कपको उपाधि
गोलनेपाल

बराहक्षेत्र । यहाँ सम्पन्न दोस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ५ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै वार्ड नम्बर १ च्याम्पियन बनेको हो ।

देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा वार्ड नम्बर १ का लागि दिवस लिम्बु र छेम्बी हाङ राईले गोल गरे । वार्ड नम्बर १ का अभिषेक श्रेष्ठ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २१०० र ट्रफी हात पारे ।

विजेता बनेको वार्ड नम्बर १ ले उपाधिसहित नगद २ लाख २ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ५ ले १ लाख १ हजारमा चित्त बुझायो । तेस्रो स्थान हासिल गरेको वार्ड नम्बर ३ ले ५१ हजार हात पार्यो भने फेयर प्ले टिम बनेको वार्ड नम्बर ६ ले ११ हजार प्राप्त गर्यो ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर १ का हुकुम मगर घोषित भए । उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ७ का भिम बिक बन्दा उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ३ का रोशन भुजेल घोषित भए । उत्कृष्ट फरवार्ड वार्ड नम्बर ५ का सन्दिप श्रेष्ठ चुनिंदा उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर १ का दिनेश राई बने ।

उदीयमान खेलाडी वार्ड नम्बर ५ का सन्देश चौधरी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट सबैले जनही ५–५ हजार र ट्रफी हात पारे । त्यस्तै सर्वाधक गोलकर्ताको पुरस्कार वार्ड नम्बर २ का दिपेश राईले हात पारे । त्यसवापत उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर १ का दिवश लिम्बु घोषित भए । त्यसवापत उनले नगद २१ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई बराहक्षेत्र नगरपालिका, सुनसरीका मेयर रमेश कार्की लगायतले पुरस्कृत गरे ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा माघ १६ गतेदेखि शुरु भएको लिग कम नकआउटका आधारमा सम्पन्न प्रतियोगितामा बराहक्षेत्र नगरका कुल ११ वार्डका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments