News स्व. खगी गरुङसेनी स्मृति छैठौं न्यु सृजना कप शुरु
सुरज राना मगर

करौजिया । न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजिया, रुपन्देहीको आयोजनामा बुधबारदेखि शुरु स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगितामा शुद्धोधन गाउँपालिकाले विजयी शुरुवात गरेको छ ।

तिलोत्तमा–१३ करौजिया स्थित आयोजक क्लब कै खेलमैदानमा भएको उद्घाटन खेलमा शुद्धोधनले सिद्धार्थ क्लबलाई टाइब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने शुद्धोधनले सिद्धार्थमाथि ४–२ को जित निकाल्न सफल भयो ।

यो जितसँगै शुद्धोधन प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा शुद्धोधनका गोलरक्षक सौरभ गिरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १० गते बिहीबारको खेल झरना स्र्पोट्स क्लब र सन्जिवनी युवा क्लबबीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले गरेकी थिईन । सो अवसरमा आयोजक क्लबका अध्यक्ष सोबित दर्लामी, मुख्य प्रायोजक क्या. नरजंग गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले मन्तव्य दिएका थिए ।

यही फागुन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेता ६० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए ।

 

 

Post Comments